कम्बोडिया । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् । होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

त्यस्तै उक्त आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँगको संवादमा छोरालाई सानु मेरो आँखाको बाबु म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू भनेका छन् । त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’