हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १० अम्वास स्थित सरस्वती आधारभूत विद्यालयका १ सय १० जना बिद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको छ ।

इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको संयोजन तथा बाल उद्दार नेपालको आर्थिक सहयोगमा जाडोको समयमा सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको थियो ।

इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको बार्षिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको हो । संस्थाका कार्यक्रम संयोजक लामाका अनुसार यसअघि बकैया–१ स्थित वनदेवी आधारभूत विद्यालय धियाँल–१ मा १०४ जना विद्यार्थी, बकैया–४ ठुलोथली स्थित बाघभैरव आधारभूत विद्यालयमा २७७ जना विद्यार्थी, बकैया–८ स्थित बाघभैरवको वालकक्षामा अध्ययनरत २५ जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।

बकैया गाउँपालिका वडा नं. १० की वडा अध्यक्ष कमला वाइवा, पूर्व अध्यक्ष सोम बहादुर तिमल्सिना, इस्थर बेन्जामिन्स मेमोरियल संस्थाका मकवानपुर कार्यक्रम संयोजक बुद्ध लामा, बकैया गाउँपालिका कार्यपालिका सदस्य राजकुमारी भोम्जन, सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक सिमोन आले मगर लगायतकाले विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेका हुन् ।

कार्यक्रममा शंकर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर वाइवा उज्वल, सस्वती आधारभूतका पिटिए अध्यक्ष तिर्थ भोम्जन लगायतकाको उपस्थिती रहेको थियो । न्यानो कपडा वितरण संगै विद्यालयलाई व्यवस्थित र सुधारका बारेमा पनि छलफल भएको उल्लेख छ ।

चिसो मौसममा न्यानो कपडाको अभावमा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि शिक्षक, जनप्रतिनिधिले सहयोगको आव्हान गरेका थिए । तामाङ समुदायको बाहुल्यता रहेको यस विद्यालयमा बकैया सहित शिखरपुर र बागमतीबाट बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । यस बिद्यालयमा करिव एक घण्टाको पैदलयात्रा गरेर विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका हुन् ।