हेटौंडा । हेटौंडा –१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभालाई सम्वोधन गर्दै प्रमुख आचार्यले किसानको साथीको रुपमा रहेको सालकको संरक्षणमा सबै उपभोक्ताहरु लाग्नु पर्नेमा जोड दिए । निकट भविष्यमा नै मकवानपुर जिल्लालाई सालकको गौरबको जिल्ला घोषणा गर्ने योजना रहेको र यस कार्यमा सबै सामुदायिक वन समूहहरुले सहयोग गर्नु पर्नेमा आचार्यले जोड दिए ।

साधारणसभामा समूहका अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, सचिव कुसुम पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजन सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा सामुदायिक वनले निर्माण गरिरहेको पर्यटकिय पार्कलाई सहयोग गर्ने राजु बिडारी र चिन्तामणी सुवेदीलाई सम्मान गरिएको थियो । वनको रेखदेखमा उत्कष्ट कार्य गर्ने वनहेरालु शिवहरि सुवेदी, कृष्ण प्रसाद तिमल्सिना, सन्जु पाख्रिन र सुशिला ब्लोन र अपाङता भएका उपभोक्ताहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरि अमर माविमा अध्ययन गर्ने विपन्न, गरिव र दलित विद्यार्थीहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो । साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सव डिभिजन वन कार्यालय, बसामाडीका रेन्जर ज्ञान कुमार रिजाल, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका सल्लाहकार प्रकाश थोकर, रामप्रसाद पौडेल, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पाण्डे, कालिका हरियाली सामुदायिक वनकी अध्यक्ष गान्धी घलान, समाजसेवी नारायण थोकर, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी