हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १३ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भएको गाउँसभाबाट अर्धवार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्तावमाथि छलफल भई सर्वसम्मत पारित गरिएको हो ।

कार्यपालिका सदस्य तथा १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मुक्तानले पेश गरेको अर्धवार्षिक समीक्षासम्बन्धी प्रस्तावमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ दशमलव १६ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख छ । चालिस करोड २९ लाख चालिस हजार रुपैयाँको बजेट बनाएको गाउँपालिकाले चालु वर्षको पुस २० गतेसम्ममा ६० लाख ७ हजार रुपैयाँ खर्च गर्न सफल भएको बताइएको छ ।

सभाले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने सम्बन्धी प्रस्तावका साथ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरेको थियो । यस्तै स्थानीय तह संस्थागत स्वमूल्यांकन नतिजामाथि छलफल गर्ने प्रस्तावमाथि पनि आवश्यक छलफल भई पारित गरिएको छ भने उपाध्यक्ष बनस्तम थिङद्धारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।
आकस्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए गरेका निर्णय कार्यहरु अनुमोदन सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/०७८ सम्मको बेरुजु नियमित गर्ने सम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँसभाको बन्द सत्र सञ्चालन गरिएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यको सहभागिता थियो ।