हेटौंडा । पश्चिम मकवानपुरको मनहरीमा २८५९ ह्योईरतावार ल्हो (बिरालो बर्ग) सोनम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समिति सांङग् छ्योइफेल गुम्बाको संयुक्त आयोजना कार्यक्रम हुन लागेको हो ।

पत्रकार सम्मेलनमा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानले ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति पार्क परिसरमा यहि माघ ८ गते सोनाम ल्होछारको दिन हुने सोनाम ल्होछार मेला तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने छ । कार्यक्रममा कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजाले प्रस्तुति दिने तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताए ।

पत्रकार सम्मेलनमा तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, मनहरी–७ का वडाध्यक्ष ठाकुर तितुङ, सांङग् छ्योइफेल गुम्बा अध्यक्ष गौतम लामा, खुसीलाल मोक्तान, सुरेश लामा लगायतको उपस्थिति रहेको थियो ।