प्रतियोगिताको चौथो संस्करणको उपाधिका साथ आर्मी। फाइल तस्बिर।

हेटौंडा । यस वर्षको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट हुने भएको छ।

शनिबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकले पाँचौ संस्करणको मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ११ गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि फागुन ४ गतेबाट प्रतियोगिता गर्ने भनिए पनि उक्त समयमा अन्य गोल्डकप हुने भएकोले २९ गतेबाट गर्ने निर्णय गरिएको हो। कार्यसमिति बैठकले संघ अध्यक्ष टीकाराम लामालाई प्रतियोगिताको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।

१२ टिमको सहभागिता रहने यस प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। अघिल्लो बर्षहरुमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए।

यस बर्षपनि बुलेटको लागि प्रायोजक हेटौँडा स्कुल अफ म्यानेजमेण्टसँग प्रस्ताव गरिने आयोजकले बताएको छ। प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगदसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको लागि १ करोड ४१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ।

प्रतियोगिता हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ। यस प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषद्सहित यहाँका स्थानीय तहहरूले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

मकवानपुर गोल्डकपको चौथो संस्करण घरेलु टोली विजय यूथ क्लवलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो।