हेटाैडा । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशमा सत्तासाझेदार दलहरू एमाले, माओवादी र राप्रपाबाट बुधबार नै नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ गराएका हुन् ।

बागमती सरकारको ११ मन्त्रालय कायम गर्ने निर्णयअनुसार एमाले र माओवादीबाट चार–चार तथा राप्रपाबाट तीनजना सरकारमा सहभागी छन् ।

नेकपा एमालेबाट मन्त्रिपरिषद्‌मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी प्राप्त गरेका छन् ।

विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।