काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि माघ १३ गतेदेखि माघ १७ गतेसम्म साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।

त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ९९ हजार २ सय जनाले १०–१० कित्ता शेयर पाउने छन् । आईपीओ भर्नेको संख्या १२–१५ हुने भएकोले उक्त कम्पनीको आईपीओमा पनि १० कित्ता मात्रै भर्नु उपयुक्त हुन्छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।