हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठमा निर्माण भएको पिङ यहाँको थप आकर्षणको केन्द्र बन्न पुगेको छ । साबिकको डाँडाखर्क गाउँ विकास समितिको वडा नं. ५, ७, ८ र ९ गाभेर बनेको कैलाश गाउँपालिका वडा नं. २ को वैकुण्ठ आफैँमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको स्थल हो । पालिकाको १५ लाख रुपियाँको लागतमा वैकुण्ठको डाँफे मुनाल पार्क नजिकै २० र ३० फिटको दुईवटा आकर्षक पिङ निर्माण गरिएका छन् ।

२० फिट लम्बाइको पिङमा दुई र ३० लम्बाइको बक्स पिङमा चार जनासम्म बसेर मज्जा लिन सकिने वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । घिर्नीबाट छोडेपछि विद्युत् प्रयोग गरी चल्ने पिङमा सुरक्षा पेटीलगायतका व्यवस्था गरिएको बताउँदै सो पिङ पालिकाको राजस्व खातामा आम्दानी हुने गरी सःशुल्क सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

उनले भने, “पिङ सञ्चालनपछि वैकुण्ठ र कैलाश जोड्ने गरी जिपलाइन सञ्चालनको तयारीमा छौँ । पालिकाले २० लाख रुपियाँ विनियोजन भएको छ । मनोरञ्जनसँगै पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउने योजना रहेको छ ।”

दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित घिसिङको कार्यकालमा मकवानपुरको पालुङबाट ३६ किलोमिटर, मनहरीबाट २७ किलोमिटर र धादिङको गजुरीबाट २९ किलोमिटरको दूरीमा रहेको वैकुण्ठमा रहेको विष्णु कुण्डमा पद्म सम्भवको मूर्ति स्थापनासँगै रमणीय डाँफेमुनाल पार्क निर्माण भएको हो । डाँफेमुनाल पार्कमा रुखमा डाँफे र मुनालको जोडीले सजिएको छ ।

यहाँस्थित विष्णु कुण्डको पानी सुक्दा गाउँमा अनिष्ठ हुने मान्यता रहेको छ । वर्षाको पानी जम्मा हुने विष्णु कुण्डमा कङ्क्रिट प्रयोग गर्दा पानी सुक्नेलगायतका समस्या आएपछि पुनः मर्मतसम्भार गर्ने तयारी गरिएको बताउँदै वडाध्यक्ष घिसिङले तीन वर्ष पुरानो सती घाटसँगै जनैपूर्णिमामा लाग्ने घाटु नाचको संरक्षण गर्ने योजना रहेको पनि बताए ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रका रूपमा वैकुण्ठलाई विकास गर्न सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाको गरी पाँच वर्षको अवधिमा ६० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । पिङमा खेलेबापत प्रतिव्यक्ति सय रुपियाँ लिने गरी कार्यविधि बनाएर सञ्चालन गरिने वडाध्यक्ष घिसिङले बताए ।
गोरखापत्रबाट साभार