हेटौंडा । बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।

त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा.बज्रकिशोर ठाकुरले बताए ।

‘हामीले अनुदान कार्यक्रममा सहभागी हुन सूचना निकालेका थियौं । यही सूचनाको आधारमा जिल्ला जिल्लामा दुग्ध उत्पादक कृषि सहकारीबाट आवेदनहरु संकलन भएका छन्’, उनले भने । ३ वटा जिल्लाको आवेदन प्राप्त हुन बाँकी भएको भन्दै उनले त्यसको समेत अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिए ।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ । मासिक १ हजार ५ सय लिटर दुध संकलन गर्ने र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन् ।

बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । गत वर्ष किसानले प्रतिलिटर १ रुपैंया ६४ पैसा अनुदान पाएका थिए ।

बागमती सरकारले २०७६ सालदेखि दुधमा नगद अनुदान दिंदै आएको छ ।