हेटौंडा । आगामी माघ २२ गतेबाट बकैया कप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु हुने भएको छ ।

बकैया–७ को भीरकोट खेल मैदानमा हुने प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुको १२ वटा टिम सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बकैया गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

यसैगरी, प्रतियोगितामा अनुशासित टिमलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २८ माघमा हुने बताइएको छ ।

बकैया कपको पहिलो संस्करणको उपाधि ४ नम्बर वडाले हात पारेको थियो भने दोस्रो र तेस्रो उपाधि क्रमशः ५ नम्बर वडा र ३ नम्बर वडाले हात पारेको थियो ।