हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसको आयोजनामा पूर्वी मकवानपुरको फापरवारीमा भएको निःशुल्क आँखा शिविरमा आज २११ जनाले आँखा जाँच गराएका छन ।

बेतिनि स्वास्थ्य चौकी फापरवारीमा भएको निःशुल्क आँखा शिविरमा जाँच गराएका मध्ये २३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । उनीहरुको सामुदायिक आँखा अस्पताल हेटौंडामा मोतियाबिन्दुको शल्यक्रिया गरिने छ ।

बागमती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकबहादुर डिम्डुङको प्रमुख आतिथ्यता तथा लायन्स क्लब हेटौंडा पाथिभराकी अध्यक्ष मेनुका पराजुलीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा लायन्स क्लव अनरेरी एडभाइजर सम्राट तुम्बाहाम्फे, हेटौंडा सामुदायिक आँखा अस्पतालकी डाक्टर रिना श्रेष्ठ, डाक्टर उत्सव थापा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सचिव धनपति तिमल्सिना, लायन्स क्लब हेटौंडा पाथिभरा सचिव मम अधिकारी, राजु पराजुली, स्वास्थ्यकर्मी लगायतकाको सहभागिता रहेको थियो ।

क्लवले मकवानपुर सहित बारा, पर्सा र सर्लाहीको आठ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिरहेको छ । माघ १६ गते बाराको महेश्वपुरबाट सुरु भएको शिविर सर्लाहीको हरिवन, मकवानपुरको फापरबारी, बाराको भोदाह र इनवसीरा तथा माघ १८ गते मकवानपुरको राक्सिराङ र बसामाडी गुम्बा तथा पर्साको बदन नगर वीरगञ्जमा शिविर हुने लायन्सको एरिया चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए । शिविरको सहयोगीको रुपमा तेज खोली एण्ड रुइत फाउण्डेशन र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।