हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ ।

यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा २५ लाख २० हजार ६७१ बाख्रा र ९२ हजार ५६१ भेडा गरि २६ लाख १३ हजार २३२ भेडाबाख्रा छन् । जसमध्ये यो वर्ष १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो ।

गएको वर्ष मन्त्रालयले यहि अभियान अन्तर्गत ८ लाख २१ हजार ४८९ बाख्रा र ८ हजार ६९८ भेडालाई पिपिआर खोप लगाएको थियो ।

‘पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ’, अधिकारीले भने, ‘नेपालमा पीपीआर रोगका कारण वर्सेनि धेरै संख्यामा भेडा बाख्रा मरेर कृषकहरुले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ । यस्तो अवस्था आउन नदिनका लागि मन्त्रालयले खोप अभियान सञ्चालनमा ल्याएको हो ।’

अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको अधिकारीले बताए । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सामुहिक खोप अभियाननैं प्रभावकारी पद्धति भएको उनको भनाइ छ । अनलाइनखबरबाट