काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।  रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।

लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे ।  उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश समेत पोखेका हुन् ।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै  मन्त्री पद जाँदा  अलिअलि झोँक पनि चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’

उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय लिएको उनले बताए ।

उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।

मन्त्रिपरिषद् १९ सदस्यीय

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् ।  रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आजको निर्णयानुसार शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि बाहिरिने भएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिने भएकी छन् ।

पार्टीको बैठकपछि सभापति लामिछानेले मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने जानकारी दिए ।  प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अब  मन्त्रिपरिषद् १९ सदस्यीय कायम हुने भएको छ ।