हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । शनिबार भएको प्रस्तुतीबाट आइतबार राजेश दर्नालले आइडलको मञ्च छाडेका छन् । निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा उनी मञ्चबाट बाहिरेका हुन् ।

आइतबार ग्राण्ड फाइनलमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५) र सुसन शाही ठकुरी(८) ले आफ्नो प्रस्तुती दिएका छन् । उनीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले बताएका छन् । टिकट अर्धकट्टीबाट भोटिङ गर्न आज साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली सोमबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने निर्णायक विजय कार्कीले बताएका छन् ।