हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पहुँचका आडमा ठेक्का सम्झौता गरेर काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

हेटौंडामा प्रदेश राजधानीबाट काठमाडौं जोड्ने सडक निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा सरोकारवाला निकायहरुसँगको बैठकलाई सम्बोधन गर्दै मंगलबार मुख्यमन्त्री जमकट्टेलले पहुँचका आडमा ठेक्का सम्झौता गरेर काम नगर्ने ठेकेदारहरुलाई कारबाहीको चेतावनी दिएका हुन् । उनले हेटौंडाबाट काठमाडौं जोड्ने भैंसे-भीमफेदी, हुमाने-फर्पिङ, दक्षिणकाली-छैमले र छैमले-सिस्नेरी सडकखण्डको काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कम्पनी र कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

सडकखण्डसँग जोडिएका घरटहरा हटाउन नसकेका कारण निर्धारित समायमा निर्माण कार्य हुन नसकेको निर्माण व्यवसायीहरुले गुनासो गरेका थिए । बैठकले फागुन १ देखि हेटौंडाबाट काठमाडौं जान चित्लाङ-थानकोट सडकडलाई अस्थायी रुपमा सञ्चालन गरेर हुमाने-फर्पिङ, खण्डको निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै काठमाडौंबाट हेटौंडा पुग्न कान्तिलोकपथको बाटो अस्थायी रुपमा प्रयोग गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालगायत सरोकारवालाहरुको सहभागिता थियो । कान्तिपुरबाट