हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकोत्सवका तथा २८७ औँ साहित्य शृखलाका अवसरमा दुइदिने बकैया कला–साहित्य महोत्सव सुरु भएको छ ।

बकैयाको जनक माविमा सुरु भएको महोत्सवको पहिलो दिन चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा बोल्दै बकैया गाउँपालिका उपाध्यक्ष भत्तबहादुर खत्रीले बकैयामा कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बकैयालाई कला–साहित्यको क्षेत्रमा अझै अगाडि बढाउन झरनाको भूमिकाको प्रशंसा गरेका छन् ।

साहित्यकार मसान उपासकले सहजिकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतीको सभाध्यक्षता रहेको थियो । चित्रकला प्रतियोगिताको अभिभावकत्व जनक माविका प्रधानाध्यापक माधव बानियाँले गरेका थिए भने सहजीकरण झरनाका कोषाध्यक्ष कृष्ण घतानीले गरेका थिए । चित्रकला प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका ६२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चित्रकला प्रतियोगिताको निर्णायकमा सूर्य सन्यासी रहेका थिए ।

आजकै अर्को सत्रमा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । यस सत्रको सहजीकरण संस्थाकी सदस्य अमृता लामिछानेले गरेकि थिईन भने अभिभावकत्व बकैया ७ का अध्यक्ष मान बहादुर सिंतानले गरेका थिए । कविता प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कविता प्रतियोगितामा निर्णायकको रूपमा जनक माविका शिक्षक धर्म प्रसाद दाहाल र प्रभात माविका शिक्षक कुमार स्याङ्बो रहेका थिए ।

आज सम्पन्न भएका विभिन्न सत्रहरूमा बकैया–३ का वडाअध्यक्ष भुमलसिंह घलान, झरनाकाा संरक्षक उद्धव प्रसाद सापकोटा, भरत प्रसाद सापकोटा, जनक माविमा बिव्यस अध्यक्ष सुन्दर थिङ लामा, बुद्ध मावि हात्तीसुँडेका शिक्षक हरि प्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम भोलि पनि निरन्तर चल्ने र दोस्रो दिनका विभिन्न सत्रहरूमा स्रस्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवा पुस्ता तथा अग्रज साहित्यकारहरुको कविता, मुक्तक र गजल प्रस्तुति, बहस, स्थानीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम आदि रहने रहने संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।