भक्तपुरको दत्रात्तय मन्दिर अगाडीको भीमसेन मन्दिरको पहिलो तलामा आज चिल्लाथ्व अष्टमी फागुन १५ गतेबाट सार्वजनिक रुपमा काठको लिंग प्रदर्शन गरिन्छ ।

काठको लिंगलाई महाभारतको भीमसेनको लिंगको प्रतीक र रातो कपडामा बीचमा प्वाल पारी द्रोपदीको योनीको प्रतीक स्वरुप मान्ने गरिन्छ । आजबाट सार्वजनिक रूपमा प्रदर्शन गरिने लिंगलाई फागु पुन्हिका दिन साँझमा मन्दिरबाट निकाली काँधमा बोकेर दत्रात्तयबाट सूर्यमढी, च्याम्हसिंह हुँदै ब्रम्हायणी नदिमा लगी धोइ पखाले पछि छोपेर पुनः मन्दिरमै ल्याउने काम सम्पन्न गरिन्छ ।

स्थानीयहरुको भनाई अनुसार सो लिंग ढोग्दा पारिवारीक सुख, दीर्घायु मिल्ने विश्वास गरिन्छ र साँझमा जसले त्यो लिंगलाई बोकी लान्छ उसको पुत्रलाभ हुन्छ भन्ने आस्था पनि रहेको पाइन्छ । पहिला मन्दिरको फल्चामा राख्ने गरिएता पनि दर्शन गर्न आउनेको भीडका साथै विशेष गरी महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको भनिन्छ ।

लिंगको लम्बाई करीब तीन फिट लामो र एक फिट गोलाकारको छ । सामान्य रुपमा यो दृश्य हेर्दा अश्लिल लागेतापनि संचारको सुविधा नभएको समयमा देवदेवीको समागमको माध्यमबाट सन्तान जन्माउन सिकाउने प्रक्रियाको रुपमा लिइएको मानिन्छ ।

रेखा शाक्य
थप जानकारी