हेटाैडा । मकवानपुरको भीमफेदीमा अवस्थित क्षेत्रीय कारागारमा ढल र फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ढल नहुँदा कारागारको शौचालयबाट निस्कने मलमुत्र सिधै खोलामा छाडनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

कैदीबन्दीहरुले प्रयोग गरेको शौचालयबाट निस्किने फोहोर सिधै खोलामा निकास हुँदा वातावरण प्रदुषण हुनका साथै स्थानीयवासीलाई समेत समस्या भइरहेको छ । कारागारका निमित्त प्रमुख मदन थिङका अनुसार विगतदेखि नै कैदीबन्दीले प्रयोग गरेको शौचालयबाट निस्कने मलमुत्र नजिकैको खोलामा निकास हुने व्यवस्था गरिएको हो ।

कारागारबाट निस्कने अन्य फोहोर सामग्रीको व्यवस्थापनमा पनि समस्या भइरहेको उनले जनाए । कारगारबाट निस्केका कुहिने प्रकृतिका फोहोरबाट मल बनाउने गरिएको छ भने नकुहिने तथा प्लास्टिकजन्य फोहोर खाल्डो खनेर गाड्ने गरिएको छ । जलाउन मिल्ने प्रकृतिका फोहोरहरुलाई भने जलाएर नष्ट गरिने उनको भनाइ छ ।

निमित्त प्रमुख थिङका अनुसार कारागारबाट निस्कने ढल व्यस्थापनका लागि वैकल्पिक ऊर्जा (बायो ग्याँस) प्लान्ट निर्माण गर्न सकिने र त्यसका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने स्टमेट तयार पारिएको छ । सो कार्यक्रम बजेट अभावका कारण कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ ।

गैर सरकारी संस्थाको सहयोगमा कारागारको ढल व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा (बायो ग्यास–गोबर ग्यास) प्लान्ट निर्माण गर्न २५ लाख रुपैयाँको लागत अनुमान तयार पारी बजेटको माग गर्दा कारागार व्यवस्थापन विभागले १० लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए । उक्त बजेटबाट काम सुरु गरेर अन्य स्रोत तथा गैर सरकारी संस्थाबाटै आर्थिक सहायता लिने तयारी गरिए पनि सो कार्य निकै लामो र असहज हुने देखिएपछि कार्यान्वयनमा समस्या भएको उनी बताउँछन् ।

विभागबाट प्राप्त बजेट पनि कार्यान्वयन गर्न अनुमति नहुँदा समस्या भइरहेको उनको भनाइ छ ।

कारागारमा हाल विद्युत महसुलबापत मासिक ५ लाख रुपैयाँ खर्च भइरहेको थिङले बताए । उक्त प्लान्ट निर्माण गरी ग्यास उत्पादन गर्दा हाल प्रयोग भइरहेको विद्युतीय चुल्हो विस्थापन गरी गोवर ग्याँस चुल्हो प्रयोग गर्न सकिने र खर्च कम हुने उनले प्रस्ट पारे । एकातिर फोहोर व्यवस्थापन र अर्कोतिर विद्युत खर्च कटौतीका हिसाबले पनि वैकल्पिक ऊर्जा तथा गोबर ग्यास प्लान्ट स्थापना गर्न उचित हुने उनी बताउँछन् ।

यसैबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उक्त कारागार निरीक्षण गरेका छन् । उनले कारागारमा रहेका समस्या समाधान गर्न आफूले पहल गर्ने आश्वासन पनि दिए ।

भीमफेदी कारागारको ढलको उचित व्यवस्थापन गर्न आफूले सहयोग गर्ने जनाउँदै उनले कारागारको शौचालयबाट निस्कने मलमूत्रलाई खुला रूपमा व्यवस्थापन गर्दा वातावरणीय समस्या हुने भएकाले तत्काल मलमूत्र व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा (बायो ग्याँस) प्लान्ट स्थापनाका लागि प्रदेश सरकारमार्फत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कैदीबन्दीलाई आयआर्जनमा लाग्न उत्प्रेरित गर्ने गरी सिपमूलक तालिम दिनुका साथै उनीहरूले उत्पादन गरेका बस्तुको बजारीकरणमा सहयोग गर्ने पनि उनले बताए ।

एक हजार १५० कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल १ हजार १ जना कैदीबन्दी छन् । जसमा एक नाबालक छन् भने २० महिला र ९८० जना पुरुष छन् । कारागारमा लागूऔषध सम्बन्धी अपराधमा संलग्न कैदीबन्दी बढी रहेको कारागारका निमित्त प्रमुख थिङले बताए । उनका अनुसार कारागारमा विदेशी कैदीबन्दी ६२ जना छन् ।

तीन वटा ब्लकमा रहेको उक्त कारागारमा २ वटा ब्लकमा पुरुष र एउटामा महिलालाई राखिएको छ । २ महिना अघिदेखि सो कारागारमा महिला पनि राख्न सुरु गरिएको हो ।

कारागारको सुरक्षार्थ ६० जना सुरक्षाकर्मी तैनाथ छन् । जसमा १० जना जनपथ प्रहरी छन् भने ५० जना सशस्त्र प्रहरी छन् । राताेपाटीबाट