एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ ।

प्रहरी बोकेको गाडी एक पुल नजिकै पुगेपछि मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फाेट गराएका खबरमा उल्लेख छ । गाडीमा सवार सुरक्षाकर्मीहरू हिजो आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी क्वेटातर्फ फर्किरहेका थिए ।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विस्फाेटकाे निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरे । उनले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सिर्जना गरेर पछाडि धकेल्ने षड्यन्त्र रचिएको भन्दै यस्ता षड्यन्त्रलाई नागरिकको सहयोगले असफल बनाइने दाबी पनि गरे । पाकिस्तानमा पछिल्लो समय सुरक्षा बललाई निसाना बनाएर आक्रमण बढ्न थालेका छन् ।