हेटौंडा । गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन सुनिँदै र देखिँदै आएको हो तर मकवानपुरको थाहा नगरपालिकामा अहिले व्यावसायिक रूपमै पाहापालन सुरु गरिएको छ । मकवानपुरमा फरक र नवीन व्यवसाय गर्ने गरी थाहा नगरपालिका–४ का जितबहादुर थोकरले व्यावसायिक रूपमा पाहा फार्म सञ्चालनमा ल्याएका हुन ।

५४ वर्षीय थोकरले कुलोभन्ज्याङमा विगत तीन वर्षदेखि कुलोभन्ज्याङ कृषि तथा पशुपन्छी पाहापालन फार्म दर्ता गरी सञ्चालनमा ल्याएका छन ।

बाथ, दम, अत्यधिक रक्तस्राव तथा हाडजोर्नीको दुखाइ कम गर्न पाहाको सुप खाँदा लाभदायी हुने जनविश्वास रहेकाले त्यसैलाई व्यावसायिक स्वरूप दिने गरे सो कार्य सुरु गरेको उनले बताए ।

वर्षाको समयमा आउने पाहा सङ्कलन गरी पाहापालन सुरु गरेका थिए । पहिलो वर्ष ६० वटा सङ्कलन गरेर राखेका उनले दोस्रो वर्ष १४० वटा थपे । फार्ममा पाहापालनका लागि दुईवटा पोखरी छन् । उनले सुरुमा खोजेर र भेटेर ल्याई १५ वटा पाहा पोखरीमा हालेको जानकारी दिए । गाेरखापत्रबाट