हेटौंडा । पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ ।

हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १८ लाई टाईब्रेकरमा हराउँदै ७ नम्बर वडाले विजयी सुरुवात गरेको हो । निर्धारित ४० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रकरबाट लिइएको थियो ।

७ नम्बर वडाका लागी भरत तितुङ, बिनोद घिमिरे र अमर गुरुङले गोल गर्दा ७ नम्बर वडाका रण संग्राम दुलालको पेनाल्टि प्रहार गोलपोष्ट भन्दा माथीबाट बाहिरिएको थियो । यसअघि दुबै टोलीका तर्फबाट गोलका लागी भएका प्रयासहरु विपक्षी गोलकिपरहरुले बचाउ गरेका थिए । शनिवारको खेलको म्यान अफ दि म्याच ७ नम्बर वडाका रण संग्राम दुलाल घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोली आइतबार चारवटा खेल हुने प्रतियोगिताका संयोजक सचिन जोशिले जानकारी दिए । भोली विहान साँढे ८ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र ८, साँढे ९ बजे हुने दास्रो खेलमा वडा नम्बर ६ र १६, दिउँसो हुने तेस्रो खेलमा वडा नम्बर १४ र १५ तथा चौथो तथा अन्तिम खेलमा ३ बजे वडा नम्बर ९ र १७ बीच खेल हुने छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ नम्बर वडा गरी १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५५५ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले नगरभित्रका सबै वडाहरुमा खेल क्षेत्रको विकासका लागी उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले खेलकुदले युवालाई संगठित, अनुशासित र प्रतिस्पर्धि बनाउँने भएकाले नगरपालिका खेल क्षेत्रमा लगानी बढाउँन तयार रहेको बताईन् ।

क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।