हेटौंडा । आफुले कखरा अध्ययन गरेको बिद्यालयमा प्रध्यानाध्यापक भएर जिम्मेवारी सल्हाल्न पाउँदा निकै हर्षित भएका छन रुद्र दाहाल मदन । उनी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा रहेको कर्मप्राप्ति माध्यामिक विद्यालयको प्रअ हुन । उनले राहत शिक्षकका रुपमा यस बिद्यालयमा शिक्षण सुरु गरेका थिए । शिक्षकबाट सुरु गरेको उनको यात्रा अहिले बिद्यालयको प्रअ सम्म पुगेको छ । आफ्नै गाउँठाउँको बिद्यालय भएकाले यसको बृद्धिविकासमा उनी अहोरात्र खटिएर गुणस्तरीय शिक्षाप्रदान गर्न लागिरहेका छन ।

सामान्य खरको छाप्रोबाट सुरु भएको बिद्यालय अहिले पक्की भवनको रुपमा रहेको छ । उनी १८ बर्षदेखि शिक्षण पेशामा आवद्ध छन । भौगोलिक रुपमा विकट रहेको यस विद्यालय बकैयाको दक्षिणी क्षेत्रमा पर्दछ । हाल यस विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

विकास भनेको भौतिक संरचनाको मात्रै विकास होइन प्रअ दाहालले भने शैक्षिक क्षेत्रलाई पनि विकास गर्नपर्छ । यस विद्यालयमा जंगल, खोला, खहरे पार गर्दै करिव डेढ घण्टा हिडेर बिद्यार्थी आउने गरेको उनले जानकारी दिए । दरबन्दीमा थोरै शिक्षक हुँदा पनि निजि स्रोतबाट बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अहोरात्र लागिरहेको उनले बताए ।

यस विद्यालयमा बिद्यार्थीको न्यून उपस्थिती, बिचमै कक्षा छाड्ने लगायतका समस्यका कारण आवासीय विद्यालय बनाउने योजनाका साथ काम गरिरहेको उनले बताए । छात्रावासको व्यवस्थापन गरेर शिक्षा प्रदान गर्ने योजना सहित काम गरिरहेको उनले बताए । यस विद्यायमा ५ नं. वडा कार्यालयले खानेपानीको व्यवस्थापन गरिदिएको छ ।

कृषि क्षेत्रमा निर्भर रहेको बकैयालाई लक्षित गर्दै आगामी दिनमा कृषि प्राबिधिक शिक्षालय खोल्ने योजनामा पनि रहेको प्रअ दाहालको भनाई छ । हाल यस बिद्यालयमा पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला सहित प्रबिधि मैत्री शिक्षण बिधि संचालनमा रहेको छ । खेल्दै सिक्दै शिक्षण बिधि पनि प्रयोग गरिरहेको जानकारी दिर्दै उनले गुणस्तरीय शिक्षा सहित प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।