काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँट गर्न लागिएको हो ।

उक्त कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले एक अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपियाँ बराबरको  १ करोड ६२ लाख ४० हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।

उक्त कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ चार लाख २४ हजार ८ सय ८५ जनाले १०–१० कित्ता र ८ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।