हेटौंडा । मकवानपुरहको हेटौंडा उपमहानगरपालिका वडा नं. १७ जुरेथुममा कृष्ण भगवानको पूर्णकदको ५२ फिट अग्लो मूर्ति निर्माण कार्य सकिएको छ । मूर्तिमा रङरोगन गर्नेदेखि सम्पूर्ण निर्माणको कार्य सकिएको हो । कृष्णको मूर्तिको द्धारमा दुई वटा चुच्चो जुधाएर बसेका मयुरको मूर्ति बनाइएको छ । करिव १५ लाख रुपियाँको लागतमा मूर्ति निर्माण भएको हो ।

हेटौंडा बजारको केन्द्रभागबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा जुरेथुम डाँडा अवस्थित छ । पूर्वी मकवानपुरको राइगाउँ छिचोल्ने समथर बाटोमा करिब २५ मिनेट मोटरसाइकलमा गुडेपछि हटिया चोक पुगिन्छ । त्यहाँबाट २ किलोमिटर उकालो चढेपछि जुरेथुम पर्यटकीय क्षेत्रमा पुगिन्छ । हटिया जुरेथुम पर्यटकीय क्षेत्रको नाममा जुरेथुम डाँडालाई विकास गरिएको हो । स्थानीय निकाय र समुदायको सहयोगमा विभिन्न संरचना निर्माणा गरिएको छ । हटिया चोकबाट उकालो बाटोको यात्रा गरेर केही मिनेट खुड्किलामा पैदल यात्रा गरेपछि जुरेथुम पर्यटकीय क्षेत्र सुरु हुन्छ । खुड्किला चढ्ने बित्तिकै २ वटा पिकनिक सेड देख्न सकिन्छ ।

पिकनिक आउनेहरुलाई मध्यनजर गर्दै खानेपानीको धारा, शौचालयलगायत निर्माण गरिएको छ । पिकनिक सेडकै माथिपट्टी शिवको मन्दिर छ । जुन २०६७ सालमा निर्माण गरिएको हो । ४० बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्रभित्र ठाउँ ठाउँमा विश्रामस्थल पनि बनाइएको छ । जहाँ प्रेम गर्ने नव जोडीलगायत अन्य घुम्न आउनेहरु सुस्ताइरहेको भेटिन्छन् । मन्दिरको पूर्वी खोल्सापारीबाट कच्ची बाटो जुरेथुमको टुप्पोसम्म नै पुगेको छ । मन्दिरदेखि पैदल जानेहरुका लागि पनि व्यवस्थित खुड्किला निर्माण गरिएको पर्यटक क्षेत्रका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

कृष्ण मन्दिरको अघिल्तिर अग्लो त्रिशुलको फेदमा नागको आकर्षक मूर्ति बनाइएको छ । कृष्ण मूर्ति रहेको ठाउँबाट करिब २० मिटर माथिबाट चारैतिरको दृश्य नियाल्न सकिन्छ । चुरेकालिका सामुदायिक वनको जग्गामा रहेको जुरेथुमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २०६७ सालदेखि युवाहरु सक्रिय रुपमा लागेका हुन् । सामुदायिक वनले पर्यटकीय पूर्वाधार निर्माण र संरक्षणको जिम्मामा ४० बिगाहा जग्गा छुट्याएको छ । घुमफिर, फोटो सेसन अनि रमणीय दृश्य अवलोकनका लागि दैनिक यहाँ आन्तरिक पर्यटकको चहलपहल हुन्छ ।