हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दोस्रो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता–२०७९ को उपाधि जितेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा गढी गाउँपालिकालाई ४–० को गोलअन्तरले पराजित गर्दै हेटौंडाले उपाधिमा आफ्नो नाम लेखाएको हो । हेटौंडाको जीतमा विनोद घलान, लक्ष्मण विडारी, सामेल सुनुवार र प्रितम स्याङ्बोले गोल गरेका थिए । उपाधिसहित हेटौंडाले नगद २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता गढीले एकलाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा विधागत तथा सर्वोत्कृष्ट खेलाडीमा हेटौंडाले कब्जा जमायो ।

हेटौंडाका गोलरक्षक गोपी बर्तौला, डिफेन्डर धिरन भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवार्ड विनोद लामा तथा प्रशिक्षक विजयलाल श्रेष्ठ उत्कृष्ट घोषित भए । हेटौंडाकै मिडफिल्डर तथा फाइनल खेलका म्यान अफ दी म्याच सामेल सुनुवार सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागतरुपमा उत्कृष्टले नगद ५ र सर्वोत्कृष्ट खेलाडीले दशहजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा सञ्चालित प्रतियोगितामा मकवानपुरको दश टोलीको सहभागिता रहेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विजेता, उपविजेता, उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेका थिए ।