काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।

प्रतिनिधि सभा नियमावलीको २० (६) लाई उल्लेख गर्दै सांसद बर्तौलाले उक्त प्रावधान उल्लंघन गरी मर्यादा विपरित काम भइरहेको उनले बताए ।

‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन,’ बर्तौलाले भने,‘सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यसप्रकारको काम भइरहको छ ।’ सत्ता पक्षका सांसदबाटै नियमावली उल्लंघन गरिएको बर्तौलाले बताए ।

बर्तौलाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पु¥याउन सदनमा निर्देशन दिए । त्यस लगत्तै उठेर कांग्रेस सांसद खड्काले बोल्न खोजे । खड्कालाई बोल्न सभामुखले समय दिएपछि उनले भने,‘अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरें । त्यसका लागि म क्षमा चाहन्छु ।’