हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष इन्द्रमणी (केशव) तिमल्सिनाले रामनवमी मेलाको अवलोकन गर्न सबैलाई निम्तो दिएका छन । भोलिदेखि चैत १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा संचालन हुने रामनवमी मेलाको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिर्दै उनले सबैलाई मेला अवलोकन गर्न निम्तो दिएका हुन ।

मेलाको भोलि दिउँसो गाउँपालिका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहने छ । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन । पालिकामा रहेका राजनीतिक दल, बुद्धिजिवी एवं सबै जनप्रतिनिधिहरुको सहमतिमा चैते दशैंको अवसरमा रामनवमी मेलाको आयोजना गरिको हो ।

मेला संगै भगवान रामको मन्दिर उद्घाटन पनि गर्ने कार्यक्रम तय भएको अध्यक्ष तिमल्सिनाले बताए । करिव दुई लाख लागतमा मुर्ति तथा मन्दिरको गजुर राखिएको उनले बताए ।

ऐतिहासिक राम नवमी मेला फापरवारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका आयोजना गरिएको मेलामा मकवानपुर सहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शक तथा व्यापारीहरु आउने वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

आफ्नै वडामा हुन लागेको मेलामा हुने आर्थिक कारोवारले यहाँका स्थानीयको जनजिवनमा समेत सकारात्मक प्रभाव पार्ने वडा अध्यक्षको बिश्वास छ । आर्थिक कारोवार ठप्प भईरहेको अवस्थामा स्थानीय स्तरबाटै संचालन हुने यस्ता मेलाले स्थानीयवासीकै जनजिवनमा सकारात्मक प्रभाव पार्ने उनले प्रतिक्रिया दिए । मेलामा बाल उद्यान, खाना, कपडा, भाडाकुडा, खाद्यान्न, जुत्ता चप्पलका स्टलहरु रहनेछन । करिव दुई करोड कारोवारको लक्ष्य राखिएको मेलामा लगभग एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

मेलामा स्थानीय उत्पादनहरु प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बुंगुरको छोइला, फापरको ढिलो लगायतका खाद्यान्नको प्रवद्र्धन तथा स्थानीय कला संस्कृति, तामाङ समुदायको डम्फु नाच, भजन किर्तन, राई, मगरको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि गरिने छ ।