हेटौंडा । पूर्वी मकवानपुरको बामगती गाउँपालिकामा भोलिदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । भोलिदेखि चैत १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा संचालन हुने रामनवमी मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिका सह संयोजक मनोज नेगीले जानकारी दिए ।

मेलाका लागि एक सय स्टलहरु निर्माण गरिएको नेगीले बताए । मेलामा बाल उद्यान, खाना, कपडा, भाडाकुडा, खाद्यान्न, जुत्ता चप्पलका स्टलहरु रहनेछन । करिव दुई करोड कारोवारको लक्ष्य राखिएको मेलामा लगभग एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेला अवलोकन गर्न मकवानपुर सहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शकहरु आउने मेला सह संयोजक नेगीले दाबि गरे ।

मेलामा स्थानीय उत्पादनहरु प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बुंगुरको छोइला, फापरको ढिलो लगायतका खाद्यान्नको प्रवद्र्धन तथा स्थानीय कला संस्कृति, तामाङ समुदायको डम्फु नाच, भजन किर्तन, राई, मगरको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि गरिने स्थानीय समाजसेवी तथा सल्लाहकार किशोर रानाले जानकारी दिए ।

ऐतिहासिक राम नवमी मेला फापरवारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका साथ स्थानीय धार्मिक तथा ब्यापार मेलाको आयोजना गर्न लागिएको मेलाका संयोजक खड्कबहादुर पुलामीले बताए । चैत १४ गते मेलामा गायक विश्व दोङ आउने आयोजकले जानकारी दिएको छ । मेलामा तारा प्रकाश लिम्बु, क्षितिज रानामगर लगायतकाले साँगितिक प्रस्तुति दिने कार्यक्रमतय भएको छ । मेलामा फापरबारी स्थानीय डान्सिङ आइडल कम्पिटिसन पनि हुने उनले बताए । मेलामा निःशुल्करुपमा अवलोकन गर्न सकिने जनाइएको छ । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको उक्त मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन ।