हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा देखिएको आर्थिक संकटबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको बताएका छन् ।

उनले देशलाई आर्थिक र राजनितिक संकटबाट बाहिर ल्याएर सम्बृद्धिको बाटोमा लैजान सबैको भूमिका हुनुपर्ने बताए । नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन कार्यक्रमा बोल्दै सभापति बानियाँले सरकार बजेट खर्च गर्न सक्ने अवस्थानमा नरहेको बताए ।

उनले यस्तै बेथिति बढ्दै जाने हो भने शिक्षक र सरकारी कर्मचारीहरुले समेत तलब खान नपाउँने अवस्था आउन सक्ने दावी गरे । देशको बजेट खर्च गर्ने क्षमतामा हस आएको भन्दै सभापति बानियाँले यहि कारण देशमा आर्थिक संकट बढेको ठोकुवा गरे ।

उनले शिक्षकहरुलाई आफुले बोकेको गहन जिम्मेवारीबाट पछि नहट्न र समाज परिवर्तनको अगुवाइलाई अझ प्रभावकारी र शसक्त बनाउँदै निरन्तरता दिन आग्रह गरे । उनले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले गुटउपगुटबाट बाहिर निस्किएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । आफु सधै शिक्षकहरुको साथमा रहेको उल्लेख गर्दै नेता बानियाँले सबै किसिमका सहयोगका लागी सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।