हेटौंडा । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ । जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ।

पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन । उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो ।

जथाभाबी मर्मत गर्दा यसको मौलिकता गुम्ने खतरा बढ्दै गएको छ। चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माणसँगै प्रयोगविहीन बनेर जीर्ण अवस्थामा पुगेको मानव निर्मित सुरुङमार्गको मर्मत थालिए पनि ऐतिहासिक सम्पदाको मौलिकता गुम्न नदिन र मौलिकताको संरक्षणमा न प्रदेश सरकारको न त पुरातत्व विभागको ध्यान पुग्न सकेको छ।

एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने र पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र मौलिकता नबिग्रने गरी मर्मतसम्भार वा जीर्णाेद्धार गर्नुपर्ने प्रावधान छ । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले सम्पदाको जीर्णोद्धारका क्रममा पालना गर्नुपर्ने मापदण्डविपरीत मर्मत गरिरहेको पाइएको छ ।

यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र सुरुङमार्ग मर्मतको काम सुरु गरेको बताउँदै भने, “पहिलेकै प्रविधिअनुसार मर्मतको काम सम्भव छैन। अहिले सिमेन्ट र छडको प्रयोग भएको छ ।”

ओझाको यस्तो भनाइ रहेको भए पनि पुरात्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने स्वीकृति लिइएकोमा शङ्का गरे । एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने उल्लेख गर्दै उनले भने, “त्यस्ता सम्पदाको मर्मत गर्न विभागसँग पूर्वस्वीकृति लिनुपर्छ। हामीसँग यस्तो स्वीकृति लिए–नलिएका बारेमा जानकारी भएन।”

पटक–पटकको भूकम्प र मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको चुरियामाई सुरुङमार्ग १९७४ सालमा निर्माण भएको थियो । नेपालको पहिलो सुरुङमार्गका परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।

रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेलमा आउने र अमलेखगञ्जबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्म सडकमार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरे पर्वत छिचोल्ने गरी माटो, इँटा, चुना र सुर्कीको प्रयोग गरी परम्परागत प्रविधिबाट सुरुङमार्ग निर्माण गरिएको थियो। अहिले मौलिकतालाई बेवास्ता गर्दै सिमेन्ट, छडलगायतका आधुनिक निर्माण सामग्रीको प्रयोग भइरहेको छ ।

सुरुङमार्ग मर्मतका क्रममा भत्किएका स्थानबाट ढुङ्गा, माटो निकाल्ने र कतिपय स्थानमा सुरुङ फुटाउने काम भइरहेको छ। निर्देशनालयका प्रवक्ता ओझाले सिमेन्ट प्रयोग गरिए पनि मौलिकता कायम गर्न चुना लेपन गर्ने बताए ।

साढे दुई मिटर चौडा, तीन मिटर उचाइ तथा पाँच सय मिटर लम्बाइ रहेको सुरुङमार्ग हेटौँडा–पथलैया सडक विस्तारका क्रममा आधाभन्दा बढी भाग भत्काइएको थियो । सुरुङमार्गको दक्षिण प्रवेशद्वार बाँकी रहे पनि उत्तरतर्फ सडक विस्तारका क्रममा क्षति भएकोले अर्को प्रवेशद्वार निर्माण गरिएको छ ।

तीन करोड ३६ लाख १३ हजार ८७८ रुपियाँको लागतमा गत वैशाख १९ गतेभित्र मर्मत गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा समयमा काम पूरा नभएपछि गत पुससम्म म्याद थपिएको थियो । अहिले फेरि म्याद थप्न निर्माण कम्पनीले निर्देशनालयसँग माग गरेको छ ।

वि.सं. २०२०/२१ सम्म चुरियामाई सुरुङमार्ग भएर जिप, लरीलगायतका साना सवारीसाधनको आवागमन हुने गथ्र्यो । सुरुङमार्गको दक्षिणी भागमा सुरुङको डिजाइन र निर्माण गर्ने इन्जिनियर थापाको अर्धकदको सालिक हेटौँडा उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको छ । गाेरखापत्रबाट साभार