हेटौंडाको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट।

हेटौंडा । संघीय सरकारले गौरवको योजनाको रूपमा ल्याएको हेटौंडाको मयूरधाप औद्योगिक क्षेत्र चर्चामा मात्र सीमित भएको छ ।

संघीय वन तथा वातावरण मन्त्रालयले मयूरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (ईआईए) प्रतिवेदन स्वीकृत नगर्दा भौतिक संरचनाको निर्माण अघि बढ्न नसकेको हो। हेटौंडा उपमहानगरपालिका वडा नं. १३ र १४ मा पाँच वर्षमा पूरा गर्ने लक्ष्यका साथ सुरु भएको औद्योगिक क्षेत्रको काम दुई वर्षदेखि रोकिएको छ। निर्माणाधीन औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्न आनाकानी गरेको हो ।

वन मन्त्रालयले ईआईए प्रतिवेदन स्वीकृत नगर्दा भौतिक पूर्वाधार निर्माणले गति लिन नसकेको हेटौंडा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख भोजराज बिडारीले बताए । ‘औद्योगिक क्षेत्रको शिलान्यासलगत्तै ईआईए प्रतिवेदन तयार गरी वन मन्त्रालयबाट स्वीकृति माग्दा मन्त्रालयले स्वीकृति दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम अघि बढ्न सकेको छैन’, उनले भने ।

पूर्वमा मयूरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा वडा नं. १६ र दक्षिणमा उत्तरपानी पर्ने ४ किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्ने २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। २०७५ कात्तिक ५ गते औद्योगिक क्षेत्र परियोजनाको लागि भन्दै कार्यालय पनि स्थापना गरिएको छ। २०७७ फागुन १४ गते औद्योगिक क्षेत्रको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले तारबारको काम सुरु गरेकोमा पर्सा राष्ट्रिय निकुञ्जले काम रोकेको छ ।

अन्नपूर्ण पोष्टबाट साभार