हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालय यतिबेला अशान्त बनेको छ । १ नम्बर वडास्थित व्यस्त बजार राप्ति रोडमा प्रहरी भ्यान दुईवटा मोटरसाइकललाई ठक्कर दिएर भागेपछि आक्रोशित भिडले नारावाजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी भ्यान हेटौँडाकै दुई जना सवार मोटरसाइकलदार्य ठक्कर दिएर आज दिउसो साँझ ७ बजेको समयमा भागेको हो । प्रहरी भ्यान प्रहरी कार्यालयभित्रै रहेको बुझिएको छ । सयौंको संख्यामा रहेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हेटौँडास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयसँग जोडिएको राजमार्गमा मालबाहकदेखि यात्रुबाहक सवारीसाधन रोकिएका छन् । अन्य सवारीसाधनलाई ठक्कर दिएर भाग्नेलाई समाउने पर्ने प्रहरी नै भागेपछि न्याय खोज्न कहाँ जाने भन्दै स्थानीयहरू प्रहरी कार्यालय घेराउका लागि पुगेका हुन् ।

प्रहरी भ्यानका चालकले मादकपदार्थ सेवन गरेको आशंका आन्दोलनरत स्थानीयहरूको छ । प्रहरी भ्यान तीव्र गतिमा रहेको उनीहरूले बताएका छन् । जिप्रकाले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । घटनाका सम्बन्धमा आधिकारिक जानकारी आउन सकेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले दोषीलाई कारबाही हुने बताए ।

प्रहरी भ्यानको ठक्करबाट हेटौँडा–५, गर्दोईका ४९ वर्षीय सुरेश बज्राचार्य र हेटौँडा–५, पिप्लेका ४५ वर्षीय मधु अर्याल घाइते भएको बुझिएको छ । यद्यपि, आधिकारिक जानकारी आउन सकेको भने छैन । घाइते बज्राचार्यको हेटौँँडा अस्पतालमा उपचार भइरहेको र अर्यालको हेटौँडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।