हेटौंडा । संघीय सरकारमा मन्त्रीमण्डलको भागवण्डा नमिले जस्तै बागमतीमा पनि सरकार विस्तारमा सकस देखिएको छ । मन्त्रालय संख्या भन्दा बढी मन्त्रालयमा दाबी परेपछि मंगलबार गठबन्धनका दुई दलले कार्यदल गठन गरेका छन् ।

काठमाडौंमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बैठकपछि कार्यदल गठन गर्ने निर्णय भएको हो । बागमतीमा कार्यदलले मन्त्रालय भागवण्डाको टुंगो लगाउने भएको हो ।

११ वटा मन्त्रालय संख्या रहेको बागमती सरकारमा नेपाली कांग्रेसले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ । २५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादी केन्द्रले भागवण्डाअनुसार लिएको ४ वटा मन्त्रालय कायम छ ।

माओवादीले लिइरहेको ४ वटासहित सरकार बाहिर रहेका ३ दलले ९ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई भागवण्डा मिलाउन सकस देखिएको हो । सरकार विस्तारको सम्बन्धमा छलफल गर्न कांग्रेस बागमती संसदीय दलका नेता लामा र मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा बसेपछि कार्यदल बनेको हो ।

कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार रहेका छन् । कार्यदलमै पनि भागवण्डाअनुसार सहभागिता छ । ७ सदस्यीय कार्यदलमा कांग्रेसले संयोजकसहित ३ सदस्य, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट २ जना छन् । शिलापत्रबाट