हेटौंडा । बागमती प्रदेश सरकारले माझी र चेपाङ समुदायको पर्वमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको बुधबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले माझी समुदायको लदी र चेपाङ समुदायको न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र बसोबास गर्दैआएका चेपाङ र माझी समुदायको पर्वमा उनीहरुलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

अन्य समुदायको पर्वका अवसरमा बिदा दिने बारेमा सङ्घीय सरकारले निर्णय गरेको भन्दै सिमान्तकृत समुदाय चेपाङ र माझीको सबैभन्दा ठूला चाडको अवसरमा बिदा दिने निर्णय गरिएको उनको भनाइ छ ।

यसैगरी बैठकले मन्त्री श्रेष्ठलाई प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्री श्रेष्ठका अनुसार बैठकले आगामी वैशाख १ गतेबाट बागमती प्रदेश सरकारको मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीहरुको विद्युतीय हाजिरी गर्ने निर्णय गरेको छ । प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा.डा. नरविक्रम थापालाई नियुक्त गर्ने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिए ।