एजेन्सी । श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताए ।

पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताए । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ ।

गएको वर्ष श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो ।