हेटौंडा । सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।

उद्दार गरि ल्याईको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको थियो । पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखनमा पर्ने नभईकन बालकहरु पनि उच्च जोखिममा रहेको यस घटनाबाट पुष्टि भएको छ ।

स्वदेश फिर्ता गरी पुर्नमिलन गराएका ८ जना बालक रौतहट, सर्लाही र बाँके जिल्लाका छन् । उद्वार गरी ल्याइएका बालकहरु ११ देखि १६ वर्ष उमेर समुहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा भएको पारिवारिक पुर्नमिलन कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले स्थानीय निकायले आफ्नो पालिका भित्रको बालबालिकाको लेखाजोखा राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जनबाट रोक्ने पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका सम्बन्धि ऐन २०७५ तथा नियमावली २०७९ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । कार्यक्रमको अन्त्यमा सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले पारिवारीक पुर्नमिलन कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै स्थानीय पालिकाहरुसँग समन्वय गरि उद्धार गरेका बालकहरुको निरन्तर अनुगमन गरी संस्थाले निरन्तर सहयोग गरिरहने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीर बहादुर बुढा, प्रदेश बालबालिका खोज समन्वय केन्द्र जनकपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्र कुमार मण्डल, जागृती बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का, बालबालिका खोज तलास मधेश प्रदेश प्रतिनिधि विरेन्द्र मण्डल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, पत्रकार अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।