हेटौंडा । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहानबाट सुरु हुँदैछ । बागमती प्रदेशमा एईई तयारीको कामहरु पूरा भएको भन्दै परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुने कार्य नगर्न आग्रह गरिएको छ ।

बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एसईई परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । साथै समितिले तोकिएको निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश नगर्नसमेत भनेको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसईईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिए ।

परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा तस्बिर वा भिडियो लिँदा र निरीक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ हुने तथा परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुनसक्ने भन्दै उनले परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण बनाएर दिनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मीलगायतलाई अनुरोध गरे ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने एसईईका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको बताए ।