हेटौंडा । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयसहित आयोजना निर्माणको क्रममा निर्माण गरिएको सडकको स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय निर्माणसहित आयोजनाका लागि उपकरण लैजाने क्रममा ट्र्याक खोलिएको ४० वर्षभन्दा बढी भएको छ । कुन्छाल–वज्रवाराही–मार्खु–कलङ्की सडकको विसिङ्खेल खोला–मार्खु–कलङ्की सडक खण्डको स्तरोन्नतिसहित कालोपत्रे गरिने भएको हो ।

थाहा नगरपालिकाको कुन्छाल–वज्रवाराही हुँदै इन्द्रसरोवर गाउँपालिकाको मार्खुबाट कलङ्की जोड्ने सडकको स्तरोन्नतिको माग स्थानीय बासिन्दाले गर्दै आएका छन् । २०४६ सालको परिवर्तनपछि त्यस क्षेत्रबाट स्थानीय र केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि परिवर्तन भए पनि सडकको अवस्था भने सुधार भएको छैन ।

इन्द्रसरोवर गाउँपालिका, कलङ्कीबाट मार्खुहुँदै विसिङ्खेल खोलासम्मको सडक खण्ड स्तरोन्नतिसहित कालोपत्रे गर्न बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । बजेट सुनिश्चित भएपछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले भरतपुरमार्फत कलङ्की–मार्खु–सिम्लाङ–विसिङ्खेल खोला पयर्टन मार्ग नामकरण गर्दै सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ ।

मानवनिर्मित जलाशय इन्द्रसरोवर र त्यस क्षेत्रको प्राकृतिक एवं ऐतिहासिक संरचनाका कारण पछिल्लो समय मार्खु–इन्द्रसरोवर क्षेत्र प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । इन्द्रसरोवर गाउँपालिका–१ मा पर्ने उक्त मार्ग वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । पर्यटक र स्थानीयलाई आवागमनमा असहज भएपछि वडा कार्यालयले चासो राख्दै स्तरोन्नतिका लागि लामो समयदेखि पहल गर्दै आएको थियो ।

सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न सङ्घ र प्रदेश सरकारमा पुग्दा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) माग भएपछि वडा कार्यालयमार्फत पालिकाकै खर्चमा गत आर्थिक वर्षमा डीपीआर बनाएर पालिकाका वडा नं. १ का निवर्तमान वडाध्यक्ष जमानसिंह लामाको अगुवाइमा प्रस्ताव पेस गरेपछि सडकको स्तरोन्नतिले सार्थकता पाएको हो ।

निवर्तमान वडाध्यक्ष लामाले पालिकाको बजेटले सडक स्तरोन्नतिको काम असम्भव हुने भएपछि बजेटका लागि प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक आग्रह गरियो तर अन्त्यमा डीपीआर बनाउन भनेपछि एक महिनामा डीपीआर बनाएर पेस गरेपछि चालु आर्थिक वर्षमा बजेट विनियोजन सम्भवभएको जानकारी दिए । स्थानीय बासिन्दाको दशकौँदेखिको सपना पूरा भएको छ, सडक स्तरोन्नति भएपछि आवागमन र स्थानीय उत्पादन बजार पु¥याउन सहज हुनेछ उनले भने । सडक स्तरोन्नतिले पर्यटन प्रवद्र्धनसँगै पर्यटनमार्फत यहाँको आर्थिक जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्नेछ ।

त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको कुन्छालबाट वज्रवाराही, विसिङ्खेल हुँदै इन्द्रसरोवर गाउँपालिकाको मार्खु–कलङ्की जोड्ने २१ किलोमिटर लम्बाइको सडक कुन्छालबाट वज्रवाराहीसम्म करिब छ किमि सडक यसअघि नै कालोपत्रे भए पनि जीर्ण भइसकेको छ । गत आवमा विसिङ्खेल खोलादेखि मार्खु–कलङ्कीसम्म करिब ३६ लाख रुपियाँको लागतमा ग्राभेल गर्नेलगायत मर्मतको काम भएको थियो ।

चालु आवमा विनियोजन भएको बजेटबाट झन्डै नौ किमि सडकखण्डमा कालोपत्रे (अस्फाल्ट कङ्क्रिट) गरिने पूर्वाधार विकास कार्यालय भरतपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको र यसै आवमा निर्माण सम्झौता गरी काम सुरु हुने र सडक साढे पाँच मिटर चौडा बनाएर कालोपत्रे गरिने जानकारी दिए । उनले सडक खण्डमा पाइप र स्ल्याबका गरी ३५१ वटा साना ठूला कल्भर्ट निर्माणसँगै ढल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

कलङ्की–मार्खु–विसिङ्खेल खोला सडकखण्ड स्तरोन्नति भएपछि छोटो दूरीको हेटौँडाबाट चित्लाङ हुँदै काठमाडौँसम्मको यात्राका लागि सहज हुनेछ । गोरखापत्रबाट साभार