एजेन्सी । इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेको छ । नोभेम्बरको अन्त्यदेखि छात्राको मात्र पढाइ हुने विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।

पछिल्लो विवरण अनुसार देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै विद्यार्थीहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि हिजो अस्पताल लगिएको छ ।

यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।