हेटौंडा । पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रूपमा फैलिएको छ । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र हेटौँडाका सूचना अधिकारी डा. आभास कोइरालाले मकवानपुरका चारवटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको जानकारी दिए ।

सूचना अधिकारी कोइरालाका अनुसार मकवानपुरको कैलाश, मकवानपुरगढी, मनहिर गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको छ । उनले रोगबारे धेरै किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफूहरूसँग आइनसकेकाले अन्य पालिकामा पनि यो रोग फैलिएको हुन सक्ने बताए ।

सूचना अधिकारी कोइरालाले अहिलेसम्म मकवानपुरमा आठ सयको हाराहारीमा गाईवस्तुमा यो रोगको लक्षण देखा परिसकेको जनकारी दिए । नेपालमा दुई वर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए । उनले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने जानकारी दिए ।

रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरू देखापर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए ।

जिल्लाको मकवानपुर गढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ । पालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किन रोग देखापरेको उपचारमा संलग्न गाउँपालिकाका पशु प्राविधिक कर्णबहादुर विकले जानकारी दिए । ‘पालिकाको प्रायः सबै वडामा लम्पी स्किन देखिएको छ । वडा नम्बर ३, ५ र ६ मा सबैभन्दा धेरै प्रभाव परेको छ । यहाँका हरेक घरमा पालिएका गाईवस्तुमा यो रोग लागेको छ,’ उनले भने ।

प्राविधिक विकका अनुसार मकवानपुरगढी गाउँपालिकामा मात्रै अहिलेसम्म १५ वटा गाईवस्तुको मृत्यु भइसकेको छ । यस्तै अहिले पनि ६ सयभन्दा बढी गाईवस्तुको उपचार चलिरहेको उनले बताए । रोग नियन्त्रणमा ल्याउन कठिन भएपछि गाउँपालिकाले पाँचजना पशुप्राविधिकलाई उपचारमा खटाएको विकको भनाइ छ ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पनि लम्पी स्किन रोग देखापरेको छ । पालिकाको वडा नम्बर १ चकरी मकरीमा मात्रै मंगलबारसम्म १० वटा गाईवस्तुको मृत्यु भइसकेको पालिकाका पशुप्राविधिक गोपाल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मनहरीमा अहिले ४० देखि ४५ वटा गाईवस्तु मात्रै यस रोगबाट बिरामी परेका छन् । रोगको लक्षण देखा पर्नासाथ उपचार थालेकाले रोग फैलिन नपाएको अधिकारीको भनाइ छ ।

यता मकवानपुरको कैलाश गाउँपालिकामा अहिलेसम्म लम्पी स्किनका कारण दुईवटा गाईवस्तुको मृत्यु भएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ३, ७ र ८ मा देखापरेको यस रोगका कारण अहिलेसम्म १५ वटा गाईवस्तु बिरामी परेका छन् ।

पालिकाका पशु प्राविधिक सन्तोषकुमार थिङले भौगोलिक विकटताका कारण सबै ठाउँको अवस्था थाहा हुन नसकेको बताए । लम्पी स्किनबाट पालिकामा अझ धेरै गाईवस्तु बिरामी परेको हुन सक्ने उनको भनाइ छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा पनि लम्पी स्किनका कारण किसानले पालेका गाईवस्तु बिरामी परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ७, ११, १२, १६, १७ र १८ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किनको लक्षण देखिएको सहायक पशुविकास अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उनले रोगको यकिन गर्न परीक्षणको काम चलिरहेको जानकारी दिए । अहिलेसम्म उपमहानगर क्षेत्रभित्र लम्पी स्किनका कारण कुनै पनि गाईवस्तुको मृत्यु नभएको उनको भनाइ छ । अधिकृत भट्टराईले रोग नियन्त्रणका लागि उपमहानगरपालिकाको प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गरिएको जानकारी दिए ।

‘उपमहानगर क्षेत्रभित्र अहिलेसम्म यस रोगका कारण गाईवस्तुको मृत्यु भएको छैन । पशुप्राविधिकहरू गाईवस्तुको उपचारका क्रममा एक स्थानबाट अर्को स्थानमा जाँदा यो रोग सजिलै सर्न सक्ने भएकाले हामीले तत्काल प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गराएका छौँ,’ उनले भने ।

रोग नियन्त्रणमा सहयोग पुर्‍याउन किसानलाई आवश्यक परामर्श दिने, माइकिङ गर्ने, रोगबारे जानकारी गराउनेजस्ता काम गरिरहेको अधिकृत भट्टराईले बताए ।

उनले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई–भैँसी खरिद–बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान आग्रह गरिएको उनको भनाइ छ । नयाँ पत्रिकाबाट