तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो रहेमा शुभ फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष तुला राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य, प्राविधिक तथा पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्र बढी राम्रो रहला । शनि र केतुको कारणले भने शत्रु बढ्ने, मनमा डर र भय भने रहनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही या उच्च छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र, र चैत्र महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
यसपालि नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र मित्रताको बन्धमा बढेर जानेछ । व्यापारिक र अन्य सम्बन्ध यथावत नै रहनेछ । पुराना प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ, तर आफ्नो जन्मकुण्डलीमा सप्तम भावको अवस्था कमजोर भएमा शुभ फल नमिल्ला । कात्तिकबाट भने पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउन सक्छ ।

शिक्षा
अध्ययन र अध्यापनमा सामान्य नै रहनेछ । मिहिनेत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । भाषा, प्राविधिक, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाइने र सरुवा र बढुवाको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनि कमजोर रहनाले वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ला साथै विपक्षी भने बढ्न सक्नेछन् ।

स्वास्थ्य
यो वर्ष सामान्य नै रहनेछ । कुनै कुराले मानसिक चिन्ता र समस्या बढ्न सक्छ । प्रजनन समस्या र शीर्ष पीडाको भय भने रहनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वस्थको विशेष ध्यान दिनु होला । कात्तिक महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ ।

शुभ रङ्ग
सेतो, रातो, निलो, खैरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६, र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजीको व्रत, दर्शन तथा पूजा गर्ने, रोगी तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि र केतु ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा सदैव रहि रहन्छ ।

साभारः हाम्रो पात्रो