वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक प्रभावबाट बच्न उपाय अपनाउँदा राम्रो होला ।

व्यापार/व्यवसाय
यसवर्ष नयाँ व्यापार व्यवसायमा प्रवेश गर्न सकिनेछ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । विशेष गरि दलाली, कृषि, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, अन्य व्यवसाय भने सामान्य नै रहनेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, असोज र माघ महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
शनिको अढैया र बृहस्पतिको कारणले आफन्त सँगको सम्बन्धमा दूरी बढ्नेछ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले सम्बन्धमा पनि चिसोपना आउन सक्छ । सबैसँगको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला ।

शिक्षा
यो वर्षको ग्रह गोचर हेर्दा विद्यार्थीहरूले मिहिनेत गरे अनुसार परीक्षामा राम्रै अङ्क हासिल गर्न गाह्रै पर्ने देखिन्छ । सामाजिक, अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । विज्ञान र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ ।

पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा व रोजगारीको क्रममा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ । धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ । आफ्नो कार्य क्षेत्रमा अप्रत्याशित सफलता मिल्न सक्छ भने कृषि, पशुपक्षी र सुरक्षा क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । पेट र हड्डीमा समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले पुराना रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
सेतो, रातो, खैरो र घ्यू रङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ४, ६, र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको नराम्रो प्रभाव र अन्य ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई लाभ हुनेछ । आस्थावान, सत्य बोल्ने र सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा सदैव रहि रहन्छ । वयोवृद्ध र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

साभारः हाम्रो पात्रो