हेटौंडा । हेटौंडामा दुई दिने कौसी तथा करेसाबारी खेती तालिम सुरु भएको छ । हेटौंडा–२, वनस्खण्डी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा तालिम सुरु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. २ को आर्थिक सहयोग र प्रसिद्ध अर्गानिक कृषि उत्पादन केन्द्र प्रालिको प्राविधिक सहजिकरणमा २ नंं वडा भित्रका कृषि अगुवाहरुको लागि तालिमको आयोजना गरिएको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनले शहरीकरण भएको स्मरण गराउँदै थोरै जग्गामा बनेका घरहरुको कौसीमा पनि खेती गर्न आग्रह गरे । उनले बजारमा उपलब्ध हुने तरकारीहरुमा बिषादी धेरै प्रयोग भईरहेको बताउँदै आफ्नै कौसीमा तरकारी उत्पादन गरेर प्रयोग गरे स्वास्थ्यलाई राम्रो हुने सुझाव दिए । उनले वडालाई नमुना बनाउने गरि काम गरिरहेको बताए । उनले टोल विकास संस्थाहरुलाई सक्रिय भएर काम गर्न आग्रह गर्दै वडामा उत्कृष्ट हुने टोल विकास संस्थालाई नगद एक लाख रुपियाँ दिने घोषणा पनि गरेका छन ।

वडा सदस्य इन्द्र प्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वनस्खण्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भवसागर श्रेष्ठ, टोल विकास संस्थाको तर्फबाट मनिषा घले बोलेका थिए । वडा सचिव दीपेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा वडा सदस्य सुरज बतौंला, कृषि अधिकृत अस्मि पौडेल लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रसिद्ध अर्गानिक कृषि उत्पादन केन्द्र प्रालिकी संचालक राधा ढकालको सभाध्यक्षतामा भएको थियो । तालिम कार्यक्रममा वडा नंंं २ का करिव ६० जना महिलाहरुको सहभागिता रहेको छ ।