हेटौंडा । सीता जयन्तीको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ सरिखेतमा आज सीता र त्रिजटाको मूर्ति शिलान्यास गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजन वन अधिकृत बिष्णुप्रसाद आचार्यले बैद्धिक विधि अनुसार भूमि पूजा गरेर सीता र त्रिजटाको मूर्ति शिलान्यास गरेका हुन् ।

पौराणिक धार्मिक कथन अनुसार नेपालकी छोरी सीता मातालाई हरेर लंका पुर्याएपछि उनको सुरक्षामा खटिएकी त्रिजटाको मूर्ति स्थापना गर्न लागिएको हो । मकवानपुरको राक्सिराङ–३ सरिखेतमा एकै स्थानमा एकसय बर्षदेखि ३० वटा भन्दा बढी अशोकका रुख रहेको स्थानमा भूमि पूजन गरेर मूर्तिको शिलान्यास गरिएको थियो ।

सीता–अशोकको संरक्षण एवं महत्वलाई दर्शाउनका लागि संम्वत् नेपालमै पहिलो पटक माता सीता र त्रिजटाको मूर्ति निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजन वन अधिकृत आचार्यकाको सक्रियतामा मूर्तिकार हर्क लामाले ३ फिटको मूर्ति निर्माण गर्न लागेका हुन । करिव डेढ महिनाभित्र निर्माण कार्य सकिनेगरी काम भईरहेको डिभिजन प्रमुख आचार्यले जानकारी दिए ।

सरिखेतलाई सीता–अशोकको हव बनाउने तयारी
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ सरिखेतलाई सीता–अशोक बाटिका बनाउने तयारी गरिएको छ । जैविक विविधता संरक्षण अन्र्तगत सीता–अशोकको रुखबाट बिउ संकलन गरि यहाँ बिउ केन्द्र बनाउने तयारी गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजन वन अधिकृत बिष्णुप्रसाद आचार्यले जानकारी दिए । वरिपरिका सामुदायिक वन तथा समुदाय संग समन्वय गरेर सीता–अशोक बाटिका निर्माण तथा बिउ उत्पादन केन्द्र बनाउन लागेका हौं, डिभिजन प्रमुखले भने–नेपालकै सबैभन्दा ठुलो अशोक बाटिका बनाउने अभियानमा हामी छौं । सीता–अशोकको यस क्षेत्रमा एक सय बर्ष पुराना रुख रहेको जानकारी दिर्दै उनले यहाँ एक हजार भन्दा बढी बिरुवा उत्पादनको तयारी गरिएको बताए ।

राक्सिराङ सरिखेतलाई वन, वातावरण संगैं अध्यात्मीक, धार्मिक पर्यटनको रुपमा पनि विकास गरिने योजना रहेको छ । हाल यस स्थानमा सीता–अशोकको ३० वटा रुखहरु रहेका छन । यस क्षेत्रको संरक्षण गर्न यहाँको भ¥याङ कालिका सामुदायिक वनले काम गरिरहेको वनका अध्यक्ष केशव भारतीले जानकारी दिए । सीता–अशोकको संरक्षण गर्न पर्खाल निर्माणका लागि डिभिजन वन कार्यालय राप्ती मनहरीबाट अघिल्लो आर्थिक बर्षमा ५ लाख रुपियाँ र यस आर्थिक बर्षमा १० लाख रुपियाँ सहयोग प्राप्त भएको उनले बताए ।

गुणकारी सीता–अशोक
रामायणमा वर्णित अशोक वाटिकामा भएको सीता–अशोकको छुट्टै महत्व छ । साढे ७ मिटरदेखि ९ मिटर सम्म अग्लो हुने अशोकको रुख आपको रुख जस्तै सधैं हरा–भरा हुन्छ । आयुर्वेदिकका अनुसार यसको रस तितो, अनुहारको चमक बढाउने, पोलेको ठाउँमा लगाउन, किरा भगाउन, दुखाई, बिषादी, रक्त विकार, पेट फुलेको हटाउन, ज्वरो, हड्डीको दुखाई हटाउन मद्दत गर्ने गुणकारी बृक्ष हो । महिलाको मासिक धर्मका लागि पनि यो बृक्ष गुणकारी मानिन्छ । आर्युवेदिक औषधि बनाउनेहरुले ‘अशोकारिष्ट’ नामको औषधिमा पनि यही बृक्षको प्रयोग गर्ने गरेका छन ।