हेटौंडा । हेटौंडामा संचालन भएको दुई दिने कौसी तथा करेसाबारी खेती तालिम सकिएको छ । हेटौंडा–२, वनस्खण्डी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा दुई सत्रमा भएको तालिम सकिएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले तालिममा सिकेका सीप व्यवहारमा पनि उतार्न आग्रह गरिन । उनले महिलाहरु उद्यमी र सक्रिय बन्नुपर्नेमा जोड दिइन । उनले तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै कौसी र करेसावारीमा खेती गर्न आग्रह गरिन ।

उनले कौसी तथा करेसाबारी खेती तालिममा सहभागिबाट उत्पादन भएका तरकारीहरु घरायसी उपभोगपश्चात बाँकी सामाग्री विक्रीका लागि उपमहानगरले विक्री केन्द्र उपलब्ध गराउने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा २ नं. वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, १ नं. वडा अध्यक्ष सविन न्यौपाने, ११ नं. वडा अध्यक्ष जुना दाहाल, १४ नं. वडा अध्यक्ष दीपक खड्का लगायतकाको उपस्थिती रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. २ को आर्थिक सहयोग र प्रसिद्ध अर्गानिक कृषि उत्पादन केन्द्र प्रालिको प्राविधिक सहजिकरणमा २ नंं वडा भित्रका कृषि अगुवाहरुको लागि तालिमको आयोजना गरिएको थियो । वडा सचिव दीपेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा वडा सदस्य सुरज बतौंला लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम प्रसिद्ध अर्गानिक कृषि उत्पादन केन्द्र प्रालिकी संचालक राधा ढकालको सभाध्यक्षतामा भएको थियो ।

तालिम कार्यक्रममा वडा नंं २ का ६० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा सहभागिहरुलाई कौसी तथा करेसावारी खेती गर्न आवश्यक सामाग्रीहरु पनि हस्तान्तरण गरिएको थियो ।