हेटौंडा । पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रूपमा फैलिएको छ । यस रोगका कारण मकवानपुरमा ३२ वटा गाईवस्तु मरेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका निमित्त कार्यालय प्रमुख डाक्टर प्रभात न्यौपानेले मकवानपुरका सात वटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको जानकारी दिए । ‘लम्पी स्किन’ का कारण मकवानपुर गढीमा २६, इन्द्र सरोवरमा ३ र कैलाशमा ३ वटा पशु मरेको उनले बताए ।

मकवानपुरको मकवानपुरगढी, कैलाश, मनहरी, बकैया, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको हो । अहिलेसम्म मकवानपुरमा एक हजार ४६७ वटा गाईवस्तुमा यो रोगको लक्षण देखा परिसकेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको तथ्याङक अनुसार मकवानपुरगढीमा एकहजार १९५, मनहरीमा १३०, कैलाशमा ७५, हेटौंडा उपमहानगरपालिकामा ५७, बकैयामा ७, इन्द्रसरोवरमा २, थाहामा १ वटा पशु यो रोगबाट प्रभावित भएको हो ।

जिल्लाको मकवानपुर गढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ । पालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किन रोग देखापरेको उपचारमा संलग्न गाउँपालिकाका पशु प्राविधिक कर्णबहादुर विकले जानकारी दिए । ‘पालिकाको प्रायः सबै वडामा लम्पी स्किन देखिएको छ । वडा नम्बर ३, ५ र ६ मा सबैभन्दा धेरै प्रभाव परेको छ । यहाँका हरेक घरमा पालिएका गाईवस्तुमा यो रोग लागेको छ,’ उनले भने ।

नेपालमा दुई वर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने डा. न्यौपानेले जानकारी दिए । उनले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने बताए । रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरू देखापर्ने डाक्टर न्यौपानेले बताए ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा पनि लम्पी स्किनका कारण किसानले पालेका गाईवस्तु बिरामी परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ७, ११, १२, १६, १७ र १८ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किनको लक्षण देखिएको सहायक पशुविकास अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उनले रोगको यकिन गर्न परीक्षणको काम चलिरहेको जानकारी दिए । अहिलेसम्म उपमहानगर क्षेत्रभित्र लम्पी स्किनका कारण कुनै पनि गाईवस्तुको मृत्यु नभएको उनको भनाइ छ । अधिकृत भट्टराईले रोग नियन्त्रणका लागि उपमहानगरपालिकाको प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गरिएको जानकारी दिए । रोग नियन्त्रणमा सहयोग पु¥याउन किसानलाई आवश्यक परामर्श दिने, माइकिङ गर्ने, रोगबारे जानकारी गराउनेजस्ता काम गरिरहेको अधिकृत भट्टराईले बताए ।

उनले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई–भैँसी खरिद–बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान आग्रह गरिएको उनको भनाइ छ ।

‘लम्पी स्किन’ रोग फैलिन नदिनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले भोलि (बुधवार) देखि खोप कार्यक्रम सुरु गर्न लागेको निमित्त कार्यालय प्रमुख डाक्टर न्यौपानेले जानकारी दिए ।