हेटौंडा । पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रूपमा फैलिएको छ । यस रोगका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मात्रै ६५ वटा गाई मरेका छन । ‘लम्पी स्किन’ का कारण पशुहरु धमाधम मर्न थालेपछि यहाँका पशुपालक किसान भने अहिले चिन्तामा परेका छन ।

१५ हजारको हाराहारीमा गाईपालन भईरहेको यस पालिकाका पशुपालक कृषकहरु ‘लम्पी स्किन’ कारण गोठ रित्तो हुने अवस्था आएपछि अहिले चिन्तित बनेका हुन । मकवानपुरगढी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक सत्यनारायण साहका अनुसार १९ सय गाईहरु यो रोगबाट यस पालिकामा प्रभावित भएका छन । ‘लम्पी स्किन’ महामारीका कारण गढी २ मा ६, ३ मा २९, ४ मा १, ५ मा २२, ६ मा ५ र ७ नं. वडामा २ वटा गाईहरु मरेको उनले जानकारी दिए । मकवानपुरगढी वडा नं. ३ मोरङ्गे स्थित श्रीनिवास गाई फार्मबाट पहिलोपटक देखापरेको यो रोग अहिले पालिका भरिनै फैलिएको बताए ।

मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्ता दिपेश दाहालले पालिका भरिनै ‘लम्पी स्किन’ महामारी फैलिएको बताउँदै यो रोग नियन्त्रणका लागि पालिका बाट २ हजार डोज र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरबाट १५ सय सहित ३५ सय डोज उपलब्ध गराएको र पशु प्राविधिकहरुले लगाउने काम धमाधम गरिरहेको जानकारी दिए । निःशुल्क रुपमा पशुका लागि औषधि पनि वितरण गरिएको प्रवक्ता दाहालले बताए ।

यसैबिच आकस्मिक रोग नियन्त्रण कार्यक्रम अन्र्तगत ‘लम्पी स्किन’ विरुद्धको खोप कार्यक्रम संचालन गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ५ उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका कृषक बद्री न्यौपाने, हरी वंश घिमिरे, दिनेश दाहालको गोठमै पुगेर भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका टिमले खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका निमित्त कार्यालय प्रमुख डाक्टर प्रभात न्यौपानेले जानकारी दिए ।

जिल्लामा मकवानपुरगढी सहित कैलाश, मनहरी, बकैया, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको उनले बताए ।

नेपालमा दुई वर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने डा. न्यौपानेले जानकारी दिए । उनले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने बताए । रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरू देखापर्ने डाक्टर न्यौपानेले बताए ।