हेटौंडा  । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

बैठकले दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ति (७७५ रोपनी) सम्बन्धी प्रारम्भिक प्रकृया अगाडि बढाउने समेत निर्णय गरेको छ।