एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएन.ओसी.एचए) ले इथियोपियामा हैजा महामारीको चेतावनी दिएको छ ।

फैलिरहेको हैजा सङ्क्रमणका कारण ९४ जनाको ज्यान गइसकेको र हैजा फैलने क्रम तीव्र बनेको भन्दै राष्ट्रसङ्घले महामारीको चेतावनी दिएको हो ।

यूएनओसीएचएले निकालेको विज्ञप्तिमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको उल्लेख छ । बाढीका कारण हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि विज्ञप्तिमा भनिएको छ ।

यूएनओसीएचएले इथियोपियाका एक लाख मानिसलाई हैजा विरुद्धको खोप लगाएको र १९ लाख डोजसहित खोपको नयाँ अभियान सुरु गरेको पनि बताएको छ । ७० लाखभन्दा धेरै मानिस रहेकाले खोप कार्यक्रम अपेक्षा अनुसार हुन सकेको छैन ।